Wednesday, June 1, 2016

मेरो बहिनीको हत्या भएको हो : विमल

जेष्ठ १९, २०७३- राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरले आज फेसबुकमा स्टाटस लेख्दै आफ्नी बहिनीको हत्या भएको बताएका छन् । विमलकी बहिनी मनिषा घर्तीमगर ८ दिनअघि गत बुधबार नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । 
उनको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई हिरासतमा लिएको छ । तर, उनले आफूले हत्या नगरेको बताउँदै आएका छन् ।

विमलले आफूले आजसम्म राष्ट्रका लागि लडेको बताउँदै अब आफ्नी बहिनीका लागि लड्ने पनि बताएका छन् । उनले देशका लागि यत्रो गर्दा पनि सुरक्षा दिन नसक्ने हो भने देशका लागि केही गर्नुको अर्थ नहुने पनि बताएका छन् ।

सानै उमेरमा पितालाई गुमाएको उल्लेख गर्दै उनले १० वर्षपछि बहिनी गुमाउनु पर्दा आफू पीडामा रहेको बताएका छन् । ‘मलाई तपाईंहरु सबैको साथ चाहिएको छ,’ उनले स्टाटसमा लेखेका छन् । बेल्जियममा फुटबल सम्बन्धि प्रशिक्षणमा रहेका बिमल बहिनीको निधन भएपछि गत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।
छानबिन जारी छ : प्रहरी
यता, मनिषाको मृत्यु प्रकरणको छानबिन गरिरहेको नवलपरासी प्रहरीले भने अहिले नै कुनै टुंगोमा पुग्न नसकिने बताएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आफूले संकलन गरेका सबै सबुद प्रमाण अदालतलाई बुझाउने भन्दै हत्या वा आत्महत्याको टुंगो अदालतले नै लगाउने बताएको हो ।

प्रहरीले आशिषले नै हत्या गरे नगरेको नखुले पनि त्यस दिन उनी मनिषाको घरमा जानु नै हत्याको कारक तत्व भएको भने निश्कर्ष निकालेको छ । ‘उसैले घाँटी थिचेर हत्या गरेको भन्ने साबित नभए पनि उसकै कारण मृत्यु भएको चाहिँ देखिन्छ,’ नवलपरासीका एसपी राजेन्द्र चौधरीले पत्रकार सम्मेलनमा भने ।

पोस्टमार्टम रिर्पोट र पोलिग्राफी टेस्टको रिपोर्ट पनि अदालतलाई बुझाइने उनले बताए । उनका अनुसार आशिषले पहिले दिएको बयान र पोलिग्राफी टेस्टमा दिएको बयान मिलेको छ । ‘पोलिग्राफी टेस्टमा पनि उसले आफूले हत्या गरेको कुरा इन्कार गरेको छ,’ पोलिग्राफ टेष्टका अनुसन्धान अधिकृत इन्सपेक्टर रामप्रसाद पाण्डले भने ।

तैपनि, आशिषको मनिषासँगको सम्बन्ध र उनको मृत्यु भएका दिनको गतिविधिलाई नियाल्दा उसको संलग्नतालाई नर्कान नसकिने पनि प्रहरीले बताएको छ ।

१७ वर्षिया मनिषा र २२ वर्षिया आषिश ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताउँदै प्रहरीले पछिल्लो एक साता उनीहरुको सम्बन्धमा चिसोपना आएको पनि बताएको छ ।

त्यस दिन आशिष रक्सी खाएर मनिषाको घर पुगेको र त्यसै निहुँमा उनीहरुको झगडा भएको पनि प्रहरी अनुसन्धानमा खुलाइएको छ । झगडा भएपछि मनिषाले आशिषलाई एक थप्पड लगाएको र उनले पनि कुटपिट गरेको, त्यसैक्रममा मनिषाको भित्रीकोठाको सिसा फुटेको र सिसाले काट्दा आशिषको रगत मनिषाको शरिरमा लागेको प्रहरीले बताएको छ ।

उनीहरुले एकअर्काले दिएका गिफ्ट फिर्ता गरेको पनि आशिषले प्रहरीलाई दिएको बयानमा बताएका छन् । त्यसपछि आफू घर बाहिर नै निदाएको पनि उनको बयानमा उल्लेख छ । मनिषा झुण्डिएको सल आफैंले खोलेर आषिशले नजिकैको पेट्रोलपम्पमा फालेका थिए ।

साथमा मोबाइल भए पनि आशिषले कसैलाई फोन नगर्नु, वरिपरिका कसैलाई नबोलाउनु, घटनास्थलमा उनी एक्लै हुनुजस्ता कारणले प्रहरीले शंकास्पद मानेको छ । यी तथ्यले अनुसन्धानलाई जटील बनाएको पनि प्रहरीको भनाई छ ।

No comments:

Post a Comment