Friday, June 24, 2016

ठूला गुन्डा भागे, साना सल्बलाए - केपी ढुंगाना, काठमाडौं

असार १०, २०७३- कलंकी क्षेत्रका व्यवसायीसँग हप्ता असुलेर हैरान पारेका जसवन्त भनिने अस्मितकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवसायी, तरकारी व्यापारी, होटल रेस्टुरेन्ट, पार्किङ सबैतिर हप्ता असुल्ने र नदिए कुटपिट, तोडफोड गर्दै आएका उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार कम्मरमुनि २ राउन्ड गोली हानेर बिजुलीबजारबाट पक्राउ गरेको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ गर्न गएको टोलीमाथि आक्रामणको प्रयास भएपछि नियन्त्रणमा लिन गोली चलाएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । ‘व्यापारीलाई धम्क्याएर पैसा उठाएको सूचनापछि खोजी गरिरहेका थियौं, बिजुलीबजारमा भेटिए,’ खनालले भने, ‘नियन्त्रणमा लिन खोज्दा फलामको रडले हान्ने प्रयास गरेपछि गोली चलाएका हौं ।’
महाशाखाका अधिकारीका अनुसार, राई सामाखुसी क्षेत्रका समीरमानसिंह बस्नेतका सहयोगी हुन् । कुमार घैंटे इन्काउन्टरमा मारिएपछि प्रहरी कारबाहीमा परिने भयले समीरमान देशै छाडेर भागेका थिए । पछि उनी कलंकी र बाफल क्षेत्रमा सक्रिय भएका थिए ।
रकम असुलीको निवेदनका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीले उनलाई यसअघि ५ पटक पक्राउ गरी कारबाही गरे पनि सुध्रिएका थिएनन् । राई डेढ महिनाअघि मात्रै ज्यान मार्ने उद्योगमा पक्राउ परेर छुटेका थिए । थुनामुक्त भएलगत्तै पुन: कलंकी र कालीमाटी क्षेत्रमा हप्ता असुलीमा उनी सक्रिय भए । राईविरुद्ध महाशाखामा ज्यान उद्योगसम्बन्धी २ वटा जाहेरी परेपछि प्रहरीले उनलाई खोजेको थियो ।
‘तरकारी व्यापारीदेखि बस व्यवसायीसम्म राईको धम्कीबाट हैरान भएका थिए,’ महाशाखाका डीएसपी रमेश थापाले भने, ‘पटक–पटक पक्राउ परे पनि उनले आफ्नो धन्दा नछाडेपछि खोजी गरेका थियौं, बिहीबार फेला परे ।’
ठूला भागे, साना सल्बलाए
पक्राउ गरी अदालती कारबाही प्रक्रियामा लैजाँदा उपत्यकामा संगठित आपराधिक समूहका नाइकेको सक्रियता नघटेपछि प्रहरीले २ वर्षअघि कठोर नीति लिँदै इन्काउन्टर अपरेसन सुरु गर्‍यो । २ वर्षअघि हत्या अभियोगमा फरार दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए । गत वर्ष महाशाखाको टोलीको इन्काउन्टरमा सामखुसी क्षेत्रका घैंटे भनिने कुमार श्रेष्ठ मारिएपछि गुन्डागर्दीमा कहलिएका दीपक मनाङे, चक्रे मिलन निष्क्रिय भए ।
असुलीमा कहलिएका रमेश बाहुन भनिने सुजन पौडेल पक्राउ परेर जेल पुगे । अपहरणको अभियोगमा अभिषेक गिरीसमेत कारागार पुगे । ललितपुर प्रहरीले ३ महिनाअघि हतियार र लागूऔषधसहित विश्वक्रान्तिलाई पक्राउ गरेको थियो ।
कहलिएकामध्ये गणेश लामाले अझै आफ्नो पुरानो धन्दा छाडेका छैनन् । लेनदेनको मुद्दामा एक कारोबारीको अपहरणको अभियोग लागेका उनी लामो समय लुकेर बसे । जिल्ला अदालत ललितपुरले सफाइ दिएपछि उनी सार्वजनिक भए । निष्क्रिय हुन नसकेका तेजेन्द्र गुरुङ, समीरमानसिंह बस्नेत, प्रवेशमान श्रेष्ठ, माइला लामा, तालु भनिने दीपक हमाल, दावा लामालगायत कोही श्रीलंका त कोही मकाउ र भारत पुगेका छन् ।
डीएसपी थापा पछिल्लो समय गुन्डागर्दीमा पुरानै समूहका तेस्रो तहका सदस्य सक्रिय हुने प्रयासमा रहेको देखिएको बताउँछन् । ‘प्रहरी अपरेसनपछि ठूला भनिएकाहरू कि निष्क्रिय भए कि बिदेसिए’, थापाले भने, ‘त्यो स्थान लिन अहिले जुनियर सक्रिय हुने प्रयासमा रहेको देखिन्छ ।’


No comments:

Post a Comment